काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाको एक टुकडीले ढुंगानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिए । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ७९ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
आजै बिहान ज्ञानेश्वरस्थित सानो गौचरणमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रधानमन्त्री, सभामुख, नेपाली कांग्रेसका सभापतिसहित विभिन्न राजनीतिक दलका नेता सानो गौचरन पुगेर श्रद्धाञ्जली प्रकट गरेका थिए । सरकारले आजै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनको योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । सरकारले ढिला गरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि सामाजिक सञ्चालनमा आलोचना समेत भएको छ ।
नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरेका ढुंगानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्ेका थिए । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसंगतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिने उनी संविधान तथा कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए ।