पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा विज्ञान प्रदर्शनी गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोजसहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेल र राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोविन्दराज पोखरेलले उक्त प्रदर्शनीको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले एकदिने प्रदर्शनी आयोजना गरिएको बताए ।
सापकोटाका अनुसार कक्षा ४ देखि १२ सम्मका विद्यार्थी उक्त प्रदर्शनीमा सहभागि थिए । दसैं–तिहारको बिदा रचनात्मक र सिर्जनशील बनाउनका लागि र नयाँ कुरा सिक्ने अवसर दिलाउनका लागि विद्यालयले विद्यार्थीलाई विज्ञानसँग सम्बन्धित रहेर विभिन्न प्रोजेक्ट तयार पार्न लगाएको थियो । बिदाको सदूपयोग गर्दै तयार पारिएका तिनै प्रोजेक्ट विद्यार्थीले प्रदर्शनमा राखेका थिए । विद्यालयको छनोटको आधारमा ११ र १२ कक्षाका १ सय ५५ र कक्षा ४ देखि १० सम्मका ७८ गरी २ सय ३३ सामाग्री विद्यार्थीले प्रदर्शनमा राखेका थिए ।
सापकोटाका अनुसार कक्षा ४ देखि ७ सम्मको प्रतिश्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ । त्यस्तै ८ देखि १० कक्षासम्मको प्रतिश्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७, ५ र ३ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । ११ र १२ कक्षामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २०, १५ र ७ हजार ५ सय रुपैयाँका दरले पुरस्कृत गरिनेछ । सबै विधामा तेश्रो हुने दुई समूहलाई पुरस्कृत गरिने पनि उनले बताए ।
त्रिभुवन र पोखरा विश्वविद्यालयका प्राध्यापकहरु सहभागी टिमले उत्कृष्ट प्रोजेक्टको मूल्यांकन गरेका थिए । निर्णायक समितिका संयोजक त्रिविका प्राध्यापक डा. शोभाकान्त लामिछानेले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता बाहिर ल्याउन सहज हुने बताए । विभिन्न ६ वटा आधारमा विद्यार्थीले गरेको कामको मुल्यांकन गर्ने पनि उनले बताए । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका गण्डकी प्रमुख गोबिन्दराज पोखरेलले विद्यालय शिक्षा सैद्धान्तिक मात्र नभई प्रयोगात्मक पनि हुनुपर्ने बताए । विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विज्ञान प्रदर्शनी परम्पराका रुपमा मात्र नभई नयाँ ज्ञान र सीप देखाउनका लागि उपयोगी हुने बताए । प्रदर्शनीमा अरु विद्यालयबाट विद्यार्थीलाई प्रदर्शनी अवलोकनका लागि ल्याइएको थियो ।
विद्यालयका प्राचार्य सापकोटाका अनुसार विज्ञान विषयका विद्यार्थीको यो प्रदर्शनीपछि व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि पनि कार्यक्रम हुनेछन । व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि बिजनेस प्लान गर्ने सम्बन्धि प्रतिश्पर्धा संचालन गरिनेछ । त्यसबाहेक होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि फूड फेस्टिबल पनि संचालन गरिनेछ ।