पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् । उनले नीतिगत अस्थिरताकै कारण बैंकमा तरलता बढे पनि निजी क्षेत्रले ऋण लिने हिम्मत नजुटाएको पनि जिकिर गरे । सिंगापुर र चीनको दृष्टान्त दिँदै उनले जहाँ आर्थिक नीतिहरु छिनछिनमा बदलिँदैनन्, त्यहाँ विदेशी लगानी पनि बढ्ने तर्क गरे ।
पोखरा उद्योग वाणिज्य संघले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘नीतिपछि बल्ल सरकार आउँछ,अहिले देशमा उत्तरी र दक्षिणी ध्रुव मिलेका छन् । साँच्चै देश बनाउन यो सरकार बनेको हो भने किन उत्पादनशील क्षेत्रमा लगानी बढेन भनेर सोच्नुपर्छ ।’ दुई ठूृला दल मिलेर सरकार बनेको झण्डै चार महिनामा पनि अर्थतन्त्र चलायनमान नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो ।
उनले आर्थिक गतिविधि सुस्ताउनुमा राजनीतिक नेतृत्वभन्दा पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीति दोषी रहेको जिकिर पनि गरे । अर्थतन्त्रको अवस्थाबारे ख्याल नराख्ने र ठूला–ठूला योजना अगाडि सार्ने राजनीतिक नेतृत्वलाई अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउनु नियमनकारी निकाय राष्ट्र बैंकको गभर्नर हुँदा बैंकहरु गाभ्ने तथा भूकम्पको समयमा अनुदान प्रवाह गर्दा राजनीतिक नेतृत्वको आग्रहभन्दा पनि अर्थतन्त्रको यथार्थता हेरेकोले आर्थिक अवस्था नडग्मगाएको पनि उनको जिकिर थियो । उनले वैदेशिक रोजगारीका लागि विदेशिनुलाई नराम्रो भन्न नमिल्ने. र गैरआवासीय नेपाली नागरिकलाई दोहोरो नागरिकता दिँदै लगानीको लागि प्रोत्साहित गर्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बैंकमा तरलता थुप्रिँदा पनि निजी क्षेत्र ऋण लिन उत्साहित नहुनु, निर्माण व्यवसायीले समयमा कामको भुक्तानी नपाउनु तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म पनि घोषणा अनुरुप भौतिक पूर्वाधारका कामको ठेक्का नलाग्नुलाई निजी क्षेत्रले निको नमानेको बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद ज्ञापन र संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष वसन्त उदासले युवा पलायन दर बढ्दा बजार सुस्ताएको जिकिर गरे ।