काठमाडौं । हिजो निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने छ ।
श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका विशिष्ट व्यक्तित्व समेत सहभागी हुनेछन् । ७९ वर्षीय उनी कलेजो सम्बन्धी समस्याबाट पीडित थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । कानुन व्यवसायको क्षेत्रमा पनि निकै ख्याति कमाएका ढुंगाना पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।