पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई ध्यानमा राखेर सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोबलका साथ सेवामा खटिइन उनले निर्देशन दिएकी हुन् ।
मन्त्रालयद्धारा आयोजित आर्थिक वर्ष ०८१÷०८२ को त्रैमासिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘आम कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी कार्यालयहरुको सेवालाई थप चुस्तदुरुस्त बनाउन आग्रह गर्दछु ।’ कृषकहरुलाई कृषि बिमा बारे अवगत गराउनुपर्ने उनको जोड थियो । मन्त्री श्रेष्ठले अधिकांश पशु पालन गर्ने कृषकहरुले पशुको बिमा गर्ने गरेकोमा अन्नबालीतर्फ न्यून संख्यामा कृषकहरु बिमामा संलग्न भएकाले सम्पूर्ण कृषकहरुमा कृषि बिमाको महत्वका बारेमा जानकारी गराउनुपर्ने बताइन् ।
मालेपाटनस्थित मन्त्रालयको सभाहलमा आयोजित समीक्षा गोष्ठी कात्तिक २७ गते समापन भएको हो । गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।