पोखराबाट रवि लामिछानेलाई भैरहवा लाने जहाज बल्ल उड्यो

पोखराबाट रवि लामिछानेलाई भैरहवा लाने जहाज बल्ल उड्यो

pokhara_airport_Bq110x4V2z

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवल पठाइएको छ ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही पठाइएको हो ।

बुटवल लैजान उनलाई  आज बिहानै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगिएको भएपनि भैरहवा विमानस्थल नखुल्दा बल्ल जहाज त्यसतर्फ उडेको छ । बुद्ध एयरका पोखरा मेनेजर गाैतम बरालका अनुसार १२ बज्नै लाग्दा जहाज उडेको हाे । बिहान सवेरै रविलाई विमानस्थल लगिएको थियो ।

कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार रुपन्देहीमा अनुसन्धान सकिएपछि फेरि उनलाई कास्कीमै ल्याइने छ । रविलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरामा ल्याइएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौंथो पटक कास्की अदालतबाट म्याद थप भएको छ । अदालतले अस्ति थप १३ दिन हिरासतमा राख्न अनुमित दिएको छ ।

सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा सहकारीहरुबाट ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको बताएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया