आज हरिबोधनी एकादशी, पोखराको सेती नदीमा फूल तारिँदै

आज हरिबोधनी एकादशी, पोखराको सेती नदीमा फूल तारिँदै

seti phul

फाइल तस्बिर

पोखरा । आज हरिबोधिनी एकादशी अथार्त ठूलो एकादशी । भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिने गरिन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूलो एकादशी भन्ने पनि छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान‍् विष्णुको आराधना गरिन्छ ।

धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले भगवान विष्णुको विशेष आधाधना र पूजा गरिन्छ । सनातन समाजमा असार शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ भने यो अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन पनि रहेको छ ।

एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ भने यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने परम्परा छ । आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ । त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ । विष्णुको अर्को नाम हरि हो । शयन अर्थात् सुत्ने कार्य । बोधको अर्थ हुन्छ उठ्ने । यसैले यी दुई एकादशीको महत्व विशेष छ । यी दुई एकादशीलाई ‘ठूलो एकादशी’ पनि भनिन्छ । अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने भविष्योत्तर पुराणमा उल्लेख छ ।

ठूलो एकादशी समेत भनिने हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । असाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । असाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी र कार्त्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । हिन्दु धर्मग्रन्थमा तुलकी, पिपल, दूबो र शालिकग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिन्छ ।

भगवान कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन । एकादशीको अवसरमा पोखराको सेती नदी किनारमा आज फूल तारिँदैछ । भजन कृतन, नाचगान गरी पूजा गरेर तोरन सेती नदीमा तार्ने गरिन्छ । आज सेती नदीका  किनारहरुमा भक्तजनकाे भीड लाग्ने गर्दछ । पञ्चांगहरूमा मंगलबार १५ घडी ८ पला अर्थात् दिउँसो १२ बजेर २७ मिनेटसम्म एकादशी रहेको उल्लेख छ।

प्रतिक्रिया