पोखरा । करिब ७ वर्ष अघि निर्माण भएको चलचित्र अग्निदहन अर्को महिना मंसिरदेखि प्रदर्शन हुने भएको छ । कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतको अभिनय रहेको उक्त चलचित्र मंसिर ७ गतेदेखि व्यावसायिक रुपमा प्रदर्शन गर्न लागिएको हो । चलचित्रको प्रचारप्रसार पोखराबाट सुरु गरिएको छ । चलचित्रको प्रचारप्रसारको तयारीमा निर्माण टिम जुटेको छ ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र बोक्सी कुप्रथा विरुद्धमा निर्माण गरिएको जानकारी दिइयो । मान्छे बोक्सी हुन्न कहिल्यैं राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको चलचित्र ७ वर्ष अगाडि छायाँकन गरिएको यसका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष समेत रहेका उपाध्यायले धादिङमा एक महिलालाई बोक्सीको आरोपमा गरिएको अमानवीय व्यवहारदेखेपछि त्यसको विरुद्धमा चेतना फैलाउन चलचित्र निमार्णको काम अगाडि बढेको बताए । लोकमणि पौडेलको उपन्यास अग्निदहनमा आधारित भएर चलचित्र निर्माण गरिएको हो । सिनेमालाई अभियानकै रुपमा अगाडि बढाइ देशका ५ सय भन्दा बढी ठाउँमा पुगेर प्रदर्शन समेत गरिएको उपाध्यायले जानकारी गराए । सिनेमा भोजपुरी र मैथली भाषामा समेत डबिङ गरिएको र हिन्दी भाषामा डबिङको काम अगाडि बढेको बताए ।
चलचित्रका निर्देशक घनश्याम लामिछाने अग्निदहन चलचत्रि मनोरञ्जनात्मक नभई सामाजिक विषयलाई उठान गरेको शिक्षा र चेतनामूलक भएको बताए । ‘नेपाली मौलिक पन र कथा भएका चलचित्र अहिले बढी चलेका छन्,’उनले भने,‘यो चलचित्रमा सामाजिक विषय र परिवेश भएकाले चल्नेमा विश्वस्त छु ।’ ५० लाखको लागतमा करिब ९० मिनेटको चलचित्र निर्माण गरिएको उनले बताए ।
कलाकार प्रकाश घिमिरेले सामाजिक विषयलाई उठान गरिएका चलचित्रमा अभिनय गर्दा आफूलाई आनन्द लाग्ने बताए । ‘मनोरञ्जन एउटा पाटो होला,’उनले भने,‘ समाजलाई सन्देश दिने र विकृति र विसंगति विरुद्धमा निर्माण गरिएका चलचित्रमा अभिनय गर्नु मेरो रोजाइ हो र यसैमा म, बढी आनन्दित हुन्छ ।’ लामो समय नाटकमा काम गरेर घिमिरे पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त छन् । बोक्सी प्रथा विरुद्धको कथामा आचारित चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको उनले बताए । कलाकार माओत्से गुरुङले समाज सेवाका लागि बनाइएको चलचित्रलाई दर्शकले माया गर्ने उल्लेख गरे ।
कलाकार प्रमिला तुलाचनले चलचित्रमा अभिनय गरेपछि कुप्रथाको सुरुवात गरिबीबाट हुने आफूलाई लागेको बताइन् । चलचित्रमा उनी बोक्सीका रुपमा प्रस्तुत भएकी छन् । लोकदोहोरी क्षेत्रबाट अभिनयमा आएकी कलाकार तुलसा क्षेत्री पहिलो चलचित्र भएकाले आफ्नो भूमिकाले दर्शकको मन छुनेमा आशावादी देखिएकी छन् । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, प्रश्निा आचार्य, माधवशरण पौडेल लगायतको अभिनय छ ।
पत्रकार सम्मेलनमा सिनेमाका संरक्षक मोहनराज पौडेल, चलचित्रकर्मी शिवजी लामिछानेले चलचित्र क्षेत्रमा पोखराले फड्को मारिसकेको बताउँदै समाजमा रहेका कुप्रथा, विकृति र विसंगतिलाई हटाउन र जनताको चेतनास्तर उकास्न चलचित्र सशक्त माध्यम भएको बताए ।पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ नेपाल कास्कीका कार्ववाहक अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सन्तोष वस्यालले गरेका थिए ।