पोखरा । पोखरामा भोलि हुने अन्तर्राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री दौड’ मा भाग लिन चिनिया धावक पोखरामा आएका छन् । चीनको कुनमिङबाट चार्टर्ड फ्लाइटबाट धावक बिहीबार दिउँसो पोखरा आएका हुन् । उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत समेत गरिएको छ । धावकसहित १ सय ३४ सदस्यीय टोली लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरा आएको हो ।
हिमालयन टुरिजम फोरम, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड संयुक्त आयोजनामा आयोजनामा हुने भएकाे हो । प्रतियोगिता तेस्रो संस्करण हो । प्रतिगोगिता अन्तर्गत आज शुक्रबार पोखराको बसुन्धरा पार्कमा स्प्रिङ सिटीको अनावरण र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी हुने हिमालय फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । दौडमा खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र/छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिष्पर्धा हुने मिडिया संयाेजक प्रतीकराज पहारीले बताए ।
५० किलोमिटर दुरीको समूहगत दौड पोखराको लेकसाइडस्थित वाराही घाटबाट सुरु भई २ हजार २ सय ५८ मिटर उचाइसम्मको रहनेछ । सो प्रतिस्पर्धामा खेलाडीहरुले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्नेछ । जसमा १७ वटा नेपाली र ४ वटा चिनिया टिमले सहभागिताका लागि नाम दर्ता गरेको आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष पालिखेले जानकारी दिए ।
च्यालेन्ज इन्डिभिजुअल दौड पनि ५० किलोमिटरकै हुने अध्यक्ष पालिखेले बताए । वाराही घाटबाटै सुुरु हुने यस विधामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाइसम्मको दुरी पार गर्नुपर्नेछ । जसमा १ सय जना नेपाली र ५२ जना चिनिया गरी कुल १ सय ५२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने विद्यार्थी दौड प्रतियोगिता ५ किलोमिटरको हुने जनाइएको छ । सो विधामा ५ सय जना विद्यार्थीले नाम दर्ता गराइसकेको अध्यक्ष पालिखेले जानकारी दिए ।
प्रतियोगिताको आकर्षणका रुपमा ह्याप्पी रन दौड हुनेछ । प्रतियोगितालाई रमणीय र आकर्षक बनाउने उद्देश्यले राखिएको सो प्रतिस्पर्धा २ किलोमिटरको हुनेछ । जसमा प्रमुख अतिथि, विशिष्ट अतिथिसहित ५ सय ७९ जनाले सहभागिता जनाउने उनले बताए । प्रतियोगिताको समूहगत बिजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीय हुनेले २ लाख २९ हजार २ सय रुपैंयाँ, चौथो हुनेलाई १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौं हुनेलाई ९५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।
च्यालेन्ज इण्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुबै तर्फको बिजेताले १ लाख ५२ हजार ८ सय, उपबिजेता दुबै तर्फकाले १ लाख १४ हजार ६ सय, तृतीय हुने दुबै तर्फकाले ७६ हजार ४ सय, चौंथोदेखि सातौंसम्म हुने दुबै तर्फका प्रत्येकलाई ३८ हजार २ सय र आठौंदेखि दशौं स्थानसम्मका दुबै तर्फकालाई जनही १९ हजार २ सय रुपैयाँ प्रदान गरिने पालिखेले जानकारी दिए । विद्यार्थी तर्फ छात्र तथा छात्रातर्फका बिजेताले समान ३० हजार रुपैयाँ, उपबिजेता बनेका दुबै तर्फकाले २५ हजार रुपंैयाँ, तृतीय हुने दुबै तर्फकाले २० हजार तथा चौंथोदेखि छैटौं स्थानसम्म प्राप्त गर्ने सबैलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।
ह्याप्पी रन दौड प्रतियोगिताका सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले प्रतियोगिता नेपाल—चीन सम्बन्धमा कोषेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘यस्ता प्रतियोगिताले स्पोर्टस् टुरिजममार्फत पोखराको पर्यटन माथि उकास्न सघाउँछ ।’
नेपालका लागि चिनिया राजदुतावासका डिसिएम वाङसेनले यस्ता प्रतियोगिताले नेपाल र चीनका जनता जनताबीच सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा हुने यस्ता प्रतियोगिताले सो घोषणालाई व्यवहारिक कार्यान्वयनमा सघाउने बताए । दौडपछि कात्तिक २५ गते स्वदेशी तथा विदेशी खेलाडीहरुले पोखरा यस आसपासका पर्यटकीय गन्तव्यहरुको दृश्यावलोकन गर्नेछन् ।