तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले पशुपन्छिको उपचार गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरमा १ हजार तीन सय पशुको उपचार गरिएको छ ।
शिविरमा ५३ वटा कुकुरलाई रेबिजविरुद्धको खेप, ७८ वटा पशुको गोबर परीक्षण, एक सय २० वटा बहर र बोकाको बन्ध्याकरण गरिएको म्याग्दे गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक विनय शाहले जानकारी दिए ।
त्यसैगरी शिविरमा तीन सय ७७ वटा गाई गोरु, छ सय ३३ वटा राँगो र भैँसी, पाँच हजार छ सय ८० वटा खसी बाख्रा, पाँच सय १८ वटा सुँगुर र बङ्गुर र नौ हजार आठ सय २६ कुखुरा र १९ वटा हाँसलाई खेप र औषद्योपचार गरी १७ हजारभन्दा धेरै पशुपन्छीको उपचार गरिएको पशु चिकित्सक शाहले बताए ।
गाउँपालिकामा रहेका कृषकलाई राहत दिन गाउँमै गएर औषद्योपचार र खोप दिने प्रबन्ध गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । पालिकामा रहेका साना तथा ठूला कृषकले उत्पादन गरेका पशु चौपायाको उत्पादनलाई गुणस्तरीय र महामारीजन्य रोगबाट बचाइ स्वस्थ मासु उत्पादन गर्न शिविर सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताए ।