पोखरा । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डाक्टर सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा सिफारिस भएका छन् ।सिन्धुलीका आचार्य न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष पनि हुन् । सूचना आयुक्तमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र प्रेस काउन्सिल नेपालका पूर्वसदस्य दुर्गा भण्डारीको नाम सिफारिस भएको हो ।
सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो । यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो । प्रमुख आयुक्तमा १६ जना र आयुक्तमा २९ जनाको आवेदन परेको थियो ।
प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ । समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।
आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचना आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीको ५ वर्षे पदावधि सकिन लागेकाले रिक्त हुने उक्त पदमा योग्य र उपयुक्त व्यक्तिको नियुक्तिका लागि सिफारिस गर्न दरखास्त आह्वान गरेको थियो । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको हुनु पर्दछ ।