नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई

नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई

Himalaya pic

पोखरा । नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले संचालन गरेको सो पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै आश्रमलाई प्रदान गरिने शुक्रबार पत्रकार सम्मेलनको आयोजना घोषण गरेको हो ।

समाजसेवा पुरस्कारका लागि पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुशील बस्नेत, पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सिना,सल्लाहकार खिमलाल अधिकारी र संस्थापक मध्येबाट यादवचन्द्र देवकोटा सदस्य रहेकोे छनौट समितिले पुरस्कार आश्रमलाई प्रदान गर्न सिफारिस गरेको थियो । नगद १५ हजार र सम्मानपत्रले यही कात्तिक २२ गते आयोजना हुने २८ औं स्थापना दिवसको मूल समारोहमा आश्रमलाई पुरस्कार प्रदान गरिने सूचना अधिकारी शिवराज देवकोटाले जानकारी दिए ।

सो पुरस्कार यसअघि उद्योगपति गणेशबहादुर श्रेष्ठ, तेजबहादुर गुरुङ, लायन गोविन्दबहादुर केसी, अग्रज भलिबल खेलाडी स्व. उदयबहादुर बस्नेत, सिद्घार्थ क्लब र नवआर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो । सोही अवसरमा पवित्र प्रेमनारायण शैक्षिक पुरस्कार वडा नं. १६ भित्रका सरकारी विद्यालयवाट कक्षा १२ को परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विन्ध्यवासिनी माविका छात्रा श्रेया आचार्य र छात्र आशिष पोखरेललाई जनही ५ हजार र प्रमाणपत्रले सम्मान गरिने छ ।

हिमालय क्लबले स्थापना गरेको एकल महिला सहयोग बाटुलेचौरका विबा नेपाली र अर्मलाका तिला विकलाई जनही ५ हजार प्रदान गरिने छ । त्यस्तै समाजसेवी कृष्णप्रसाद अधिकारी र प्रभा कोइरालाद्वारा स्थापित नगद ५ हजार राशिको स्वर्गीय सावित्री लीलाधर उत्कृष्ट कृषक पुरस्कार चमेरी गुफा कृषक समूहलाई प्रदान गरिने क्लबले जनाएको छ ।

क्लबले यही कात्तिक २२ गते विभिन्न कार्यक्रम गरी मनाउने स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही दिन क्लबद्वारा संचालित विभिन्न पुरस्कार, सहयोग वितरण तथा विभिन्न साँंस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष मोहनबहादुर थापाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १६ उपशाखा र रक्त संचार केन्द्र सहयोगी संस्थाको रुपमा रहेका छन् । मुल समारोह समितिका संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सल्लाहकार दुर्गा केसी थापा, निवर्तमान अध्यक्ष सुशील बस्नेत, पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठ, कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिका कोषाध्यक्ष बलराम भट्टराई, पूर्व अध्यक्ष जीवनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

पत्रकार सम्मेलनको सञ्चालन सचिब तुलबहादुर बस्नेतले सञ्चालन गरेका थिए । सोही अवसरमा क्लब र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिले नवदुर्गामा कालिका मन्दिरमा आयोजना गरेको दुर्गा पूजाको आय व्यय सार्वजनिक गरेको छ । पूजामा १ लाख ६ हजार ८ सय ५० आम्दानी भएकोमा ४० हजार ७५ रुपैयाँ खर्च भई ६६ हजार ७ सय ७५ रुपैयाँ बचत भएको कोषाध्यक्ष बलराम भट्टराईले जानकारी दिए । बचत रकम मध्येबाट ३३ हजार ३ सय ८७ रुपंैयाँ मन्दिरलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया