पोखराका पत्रकार केशवशरण प्रेस काउन्सिल सदस्य नियुक्त

पोखराका पत्रकार केशवशरण प्रेस काउन्सिल सदस्य नियुक्त

keshav saran

पोखरा । पोखराका पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । पोखरा २८ माझठाना स्थायी घर भएका लामिछाने सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता थालेका थिए ।

नागरिक दैनिक, नेपाल समाचारपत्र दैनिक, समय साप्ताहिक, बिबिसी मिडिया एक्सन, पोखराको पोखरा एफएममा काम गरेको अनुभव बटुलेका लामिछाने पोखराबाट प्रकाशित हुने समाधान दैनिकको सम्पादक र काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिकको गण्डकी ब्युरो प्रमुख छन् । पोखराको गण्डकी विश्वविद्यालय र लेकसिटी कलेजमा पत्रकारिता विषय अध्यापन गर्दै आएका लामिछाने नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार समेत छन् । लामिछानेसँगै लमजुङका पत्रकार विजय अधिकारी पनि सदस्यमा नियुक्त भएका छन् भने उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम काउन्सिलमा १ जना अध्यक्ष र ९ जना सदस्य हुन्छन् । नेपाल सरकारले बढीमा ४ वर्षका लागि नियुक्त गर्नसक्ने अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यववस्था छ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदेन–सदस्य, सूचना विभागका महानिर्देशक सदस्य–सचिव रहने गरी काउन्सिलको गठन हुन्छ । प्रेस काउन्सिल पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण सम्वर्द्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्नुका साथै नेपाल सरकार र सञ्चार माध्यमकाबिच पुलको रूपमा काम गर्ने जिम्मेवारी भएको संस्था हो ।

प्रतिक्रिया