रवि र छवि दुबै जनालाई म्याद थपका लागि अदालत लगिने

रवि र छवि दुबै जनालाई म्याद थपका लागि अदालत लगिने

ra bi court

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति एवं गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने र अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।

हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप्न अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले हिरासतमा राख्न ६ दिनको अनुमति दिएको थियो । रवि गत शुक्रबार पक्राउ परेका हुन् ।

गत असोज ६ गते पक्राउ परेका जोशीलाई अनुसन्धानका लागि रुपन्देही लगेर बुधबार दिउँसै पोखरा ल्याइएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत गोरखा मिडियामा लगेर ठगी गरिएको आरोप जोशीमाथि छ । मंगलबार उनीसँग झण्डै सात घन्टा सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

शुक्रबारबाट सुरु भएको रविको म्याद बुधबार सकिएको छ । सोमबार रविसँग सामान्य सोधपुछ र कागजात प्रमाणितको काम गरिएको थियो । मंगलबार सरकारी वकिलको कार्यालयमा प्रहरीले रविसँग बयान लिएको छ । बुधबार भने उनीसँग बयान लिइएन । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रवि र छवि दुवै पक्राउ परेका हुन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । सहकारीहरुबाट रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया