काठमाडौं । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शंकास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।
उक्त विमानमा कुनै पनि शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनले विमानमा शंकास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताए । भारतको नयाँदिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा दिउँसो ४ः३० बजे अवतरण गरेको भिस्ताराकोे उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले दिउँसो ४ः३० बजेदेखि साँझ ७ बजेसम्म विमानको जाँच गरेको थियो ।
अज्ञात समूहले भिस्ताराको एयरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि काठमाडौँ विमानस्थलमा उक्त विमानलाई पार्किङवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो । विमानमा सवार १ सय ५७ यात्रुलाई खानतलासी गर्दा कुनै शं्कास्पद वस्तु फेला नपरेको भुलले बताए । बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान गरिएको हो ।