एकदम सन्तुष्ट छ । प्रोड्युसर सन्तुष्ट भए भने कलाकारले काम पाउने हो । प्रोड्युसरले कमाइदिए भने हल पनि चल्ने हो । हाम्रो उद्योग भनेकै यही हो । फिल्म हल चले भने निर्माता बाँचे भने हामी चल्ने हो । उनीहरु नै बाँचेनन् भने हामी रहनुको के अर्थ रहन्छ र ?
कलाकारको रुपमा तपाईंलाई कुन कुराले सन्तुष्टि दिन्छ ? समीक्षा वा फिल्मको कमाइले ?
राम्रो फिल्म बन्नुपर्यो । राम्रो फिल्म बन्यो भने चल्छ भन्ने मान्यता छ । चल्यो भने आम्दानी पनि हुन्छ उनीहरुको । उनीहरुले कमाए भने हामीलाई पनि सन्तुष्टि हुन्छ । हाम्रो बजार पनि बन्छ । कलाकारको माग पनि बढ्छ ।
अहिले कुन फिल्ममा व्यस्त हुनुहुन्छ ?
‘फेरि रेशम फिलिली’को छायांकनमा जाँदैछु । विमानमा पनि जाँदैछु । भर्खरै ‘वसन्त’ सकेर आएँ । ‘घर नम्बर २’, ‘मेयर’ पनि सकें । क्रमशः अरु फिल्मबाट पनि कुरा आएको छ । एकैपटक साइन त गर्नुभएन । टाइम पनि मिलाउनुपर्यो । पोखरामा अनुप बरालको ‘हंशध्वनि’ थिएटर पनि वैशाखबाट सञ्चालनमा आउँदैछ । नाटक पनि गर्नुपर्नेछ । यसको सञ्चालक समितिमा म पनि छु ।
म काम खोज्दै हिंड्दिनँ । पोखरै बस्छु । मलाई खोजे भने नाइँ पनि भन्दिनँ खासमा । सकभर भो भन्दिनँ तर समय जुधेपछि भने छोड्छु ।
कलाकारलाई सबैभन्दा ठूलो सन्तुष्टि केले दिने रहेछ ?
आफूले खेलेको फिल्म राम्रो छ र राम्रो खेलेको छ भनेर प्रतिक्रिया दिए भने आफूलाई आनन्द लाग्छ । कति फिल्म चलेनन् तर राम्रो काम गरेको थिएँ भन्ने आफूलाई लागेपछि तिनबाट सन्तुष्ट पनि छु । फिल्म नचल्दा दुःखी पनि छु किनभने निर्माता त घाटामा परे । चल्दिनुपर्ने फिल्म किन चलेन भन्ने पनि लाग्छ । राम्रा फिल्म चल्नुपर्छ भन्ने पनि हुन्छ । आफूलाई राम्रो लाग्या फिल्म कुनै कुनै चल्या छैनन्, यसले चाहिं दुःख लाग्छ ।
‘छक्कापञ्जा ५’ मा तपाईं एक परम्परागत सोचको पिताको भूमिकामा हुनुहुन्छ ? वास्तविकतामा तपाईं आफूलाई कसरी व्याख्या गर्नुहुन्छ ?
मेरी छोरी तीन महिना भयो अस्ट्रेलिया गएको । एमबीए पास गरेकी उनको यहाँ बैंकमा राम्रै खालको नोकरी पनि थियो उनको । मैले उनलाई रोक्ने प्रयास गरें । तिमीले एमबीए पास गरिसकेकी छौं, यहाँ महिनाको ४०-५० हजार आम्दानी पनि छ । उनले तपाईंले कुरै बुझ्नुहुन्न भनिन् । मलाई एक स्वयंसेवकले टोकियो १५ दिन घुमाइदिन्छु भनेर भने । त्यहीं काम गर्न मन लाग्यो भने मेरो सहयोगी बनाएर त्यहीं काम लगाइदिम्ला टोकियो युनिभर्सिटीमा ।
तर मैले सोचें– म गएँ भने मैले देश बिर्सिन्छु । म अहिले यहाँ तपाईंहरुसँग छु, तपाईंसँग नजिक हुन्छु । जोलाई भेट्यो, त्यही मान्छे मलाई आफ्नो लाग्छ । मैले श्रीमती, छोरी र देशै बिर्सिन्छु भन्ने डर पो लाग्यो । त्यसपछि म जानुहुन्न भनेर फर्किएँ । अहिले अस्ट्रेलियामा रहेकी छोरीले बल्ल भन्छिन्– हो बाबा, अहिले तपाईंले भनेको कुरा ठीक रहेछ ।
अझै म पोखरा छोड्न चाहन्नँ । मेरो त जन्मस्थान यहीं हो । मलाई किन किन पोखरा रमाइलो लाग्छ । एक त जन्मेको ठाउँ, हिमाल भएर हो कि । कहीं गएँ भनें उत्तरतिर फर्किएमा मलाई माछापुच्छ्रे नै चाहिन्छ । अनि मलाई बस्नै मन लाग्दैन । म काठमाडौं सुटिङमा मात्र जाने हो नि ।
पोखराले तानिरहनुको अरु कारण पनि छ कि ?
एक त म जन्मेको यहीं हो । अर्को कुरा, पोखराले सौन्दर्यमार्फत सबैलाई तानेको छ । तर यहाँका मान्छेले चाहेको भएदेखि पोखरा अझै राम्रो बन्न सक्थ्यो । यसलाई बिगार्ने काम त प्रशस्त भएको छ । यो अझै त्यसरी बिग्रिएको छैन । म जन्मिएको नदीपुरबाट अझै राम्रो लागेर घाचोकतिर जग्गा किनेको छु । सहरीकरण भनेको मलाई धेरै मनपर्ने चीज होइन ।
काठमाडौंसँग के चीज छैन जुन पोखरासँग छ ?
पहिलो दक्षिण एसियाली खेलकुद हुँदा म फिजिकल ट्रेनिङको इन्स्ट्रक्टर भएर पहिलोपटक काठमाडौं पुग्या थिएँ । त्यतिबेला म लामो समय काठमाडौं बसें । २०४१ सालमा त्यतिबेला लगभग ६ महिना बस्नुपर्यो । मैले कन्या मावि लैनचौरका १६ सय विद्यार्थीलाई वेलकम पीटी सिकाउनुपर्थ्यो । विद्यार्थीले साफ गेमको उद्घाटन समारोहमा प्रस्तुति दिएका थिए । किन किन मलाई काठमाडौंमा त्यो ६ महिना कटाउन बेस्सरी गाह्रो भयो । यति गाह्रो भयो भनिसाध्य छैन, फर्केर आएपछि बिरामी पनि भएँ । मानसिक रुपमा म एकदम टेन्सनमा भएँ ।
जन्मिएको यहाँ भएपनि मेरो बाल्यकाल पोखरामा बितेन । १२ वर्षको उमेरदेखि बल्ल पोखरा बस्न पाएँ । मलाई पहिला पोखराप्रति एकदम लगाव बनिराख्या थियो । पोखरा आएपछि यो ठाउँ छोड्नै मन लागेन । २०१९ सालमा जन्मिएको मान्छे १२ वर्ष हुँदा स्थायी रुपले बस्न यहाँ आएँ । त्यसपछि मैले पोखरा छोड्या छैन । भाग्यले मान्छेलाई कहाँ पुर्याउँछ थाहा छैन तर पनि मलाई पोखरा छोड्न नपरोस् जस्तो लाग्छ ।
पछिल्लो समय चरित्र अभिनेतालाई नेपाली फिल्मले कसरी लिएको पाउनुहुन्छ ?
फिल्म भनेको यथार्थ हो । फिल्म हेरिसकेपछि मान्छेले केही कुरा सिकोस् । यो गलत र यो सही रहेछ भन्ने बुझोस् । मान्छेलाई केही प्रभाव पारोस् । सुध्रिनेहरुलाई सुधारोस् । बिग्रिन चाहिं सकभर नबिगारोस् भन्ने मानसिकता हाम्रो पनि हो । म नाटकबाट आएको मान्छे हुँ । मलाई नाटक एकदम मनपर्छ । म फिल्ममा आउँछु भन्ने छँदै थिएन । नाटकबाट समाज परिवर्तन गर्छौं भन्ने मानसिकता हुन्थ्यो हाम्रो । सुरुमा त फिल्म शिक्षाको लागि नै आविष्कार भएको हो । तास पनि सुरुमा पढाउनका लागि बन्या हो । अहिले त जुवा भयो । रक्सी पनि पहिला औषधिको लागि बन्या होला । अहिले पनि अल्कोहल औषधिको लागि प्रयोग हुन्छ । मान्छेले नशा बनाइदिन्छ । फिल्म भनेको राम्रो चीजका लागि हो भन्ने मेरो सोच छ । यही कारणले लागेको पनि हुँ ।
फिल्म भनेको हिरोइजम जुन भनिन्छ, त्यो कुनै बेला थियो । खासमा फिल्म इस्युले चल्ने हो । त्यहाँ काम गर्ने जुन कलाकार र चरित्र छन्, चरित्रले त्यसलाई अब्जर्भ गर्नुपर्यो । त्यसमा देखाइएको पीडा महसुस गर्नुपर्यो । जबर्जस्ती गरेर हुँदैन । हाहा हुहु, ह हो गरेर फिल्म चल्ने हैन । राम्रो कथा र राम्रो चरित्र लेखिएपछि जो पनि हिरो हुन्छ । एउटा माग्ने पनि त हिरो हुनसक्छ । हिरो भनेको त उसको काम हो । राम्रो सोच हो । राम्रो सोचले काम गर्ने मान्छे माग्ने पनि हुनसक्छ ।
इस्यु राम्रो चाहियो । कन्टेन्ट महत्वपूर्ण हो । कन्टेन्टलाई उचाल्ने खालको कलाकार हुनुपर्यो ।
तपाईंले एकातिर ‘छक्कापञ्जा’ र ‘कबड्डी’ जस्ता पैसा छाप्ने ब्लकबस्टरमा पनि काम गर्नुभएको छ । अर्कोतिर, आर्ट हाउस फिल्ममा पनि । कसरी सन्तुलन मिलाउनुहुन्छ ?
फिल्म भनेकै आर्ट हो । नभए त फिल्म बन्दैन । आर्ट त आर्टै हो नि त्यो । कुनै चल्ने आर्ट हुन्छ, कुनै नचल्ने आर्ट हुन्छ । साह्रै आर्ट फिल्म भनेर इस्यु र कन्टेन्ट केही पनि छैन । त्यसलाई हेर्न मजा आएन । भयंकर फिल्म भनेर स्लो बनाएर अर्थ रहेन । मान्छेलाई तान्न सक्ने कन्टेन्ट हुनुपर्यो । बिरामी भैंसीलाई हामीले औषधि दिन्छौं । तर उसले खाने कुरामा केरामा औषधि हालेर दिन्छौं । गुलियो कुरामा हालेर खुवाइदिने हो भने आँ गर्छ र ग्वाम्म खान्छ । भित्र गएपछि औषधिले गर्ने काम गर्छ । फिल्म पनि हेर्न मिल्ने बनाउनुपर्यो । त्यहाँ पनि त केही औषधि त हुनुपर्यो । जसले भित्र गएर केही काम गरोस् भने मान्यता हो । अनलाइनखबर डटकमबाट साभार ।