पोखरा । कास्कीको रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले काठमाडौंंबाट पोखरासम्मको दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल उनले काठमाडौंको दशरथ रंगशालाबाट सोमबार दौड सुरु गरेका हुन् ।
पहिलो दिनमा धादिङको मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेका छन् । करिब २ सय किलोमिटरको दौड उनले तीन दिन भित्र पूरा गर्ने लक्ष्य राखेका छन् । मजिमटारबाट आज दमौली नजिक पुग्ने उनको लक्ष्य रहेको उनका सहयोगी विकास खड्काले बताए । आज पनि उनकाे दौड सुरु भइसकेको छ ।
दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनको योजना रहेको छ । उनलाई मोटरसाइकल राइडरसहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको छ । व्यक्तिगत खर्चमा उक्त दौड पूरा गर्ने उनको लक्ष्य रहेको छ ।
कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेति भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गरेका हुन् ।
नेपाली सेनाको हबल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् । केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौड पूरा गर्ने अभियामना उनी जुटेका हुन् । उनले हप्तामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आएका छन् । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिएका गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी भएका थिए ।