पोखरा । नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा भोलि र पर्सि पोखरामा हुने भएको छ । अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्ने पार्टीका केन्द्रीय संयोजक डाक्टर बाबुराम भट्टराईले जानकारी दिए ।
२०७३ सालमा डा. भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भएकोमा अहिले नाम परिवर्तनहुँदै नेपाल समाजवादी पार्टी बनेको हो ।
अधिवेशनमा भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्नेबारे गहन छलफल गरिने पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले बताए ।
अधिवेशनपछि ३ तहमै पार्टी निर्माण र अभियानमा लाग्ने उनको भनाइ थियो । माओवादी त्यागेपछि नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादीसम्म आइपुग्दा वैकल्पिक राजनीतिको अभ्यास गरेको र अब चाहिँ असली वैकल्पिक पार्टी कस्तो हुन्छ भनेर देखाउने भट्टराईले दाबी गरे ।
संयोजक भट्टराईले देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदल र पछौटेपन हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जरुरी भएको बताए । उनले शासन प्रणालीमा परिवर्तन नगरी देशको विकास र समृद्धि सम्भव नहुने विचार राखे । २०७२ असोजमा नयाँ संविधान बनेपछि नेकपा (माओवादी केन्द्र) परित्याग गरेका डा भट्टराईले नयाँ शक्ति नामक अभियान चलाएका थिए ।