पोखरा । सहकारी ठगी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ । उनलाई शनिबार बिहान करिब २ बजेतिर पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ पौन ६ बजे काठमाडौंबाट पक्राउ गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका लामिछोलाई पोखरा ल्याएर स्वास्थ्य जाँच गरिएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ( पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य जाँचपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
लामिछानेलाई पोखरा ल्याउनु अघि नै पार्टीका पहिलो बरियताका उपाध्यक्ष स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय अगाडि पुगिसकेका थिए । अर्का उपाध्यक्ष उपाध्यक्ष डिपी अर्याल र रविकी पत्नी निकिता पौडेल लामिछानेसँगै गाडीमा आएका थिए । गैह्रापाटनमा रहेको जिल्ला प्रहरी कार्यालय अघि रास्वपा कार्यकर्ताले नाराबाजी गर्नुका साथै उनका समर्थकहरु राजमार्गका विभिन्न ठाउँमा भेला भएर नाराबाजी समेत गरेका थिए । बाटोमा आउँदा रविका पक्षमा मात्र नभएर उनको विपक्षमा पनि नाराबाजी भएको छ । धादिङमा उनी विरुद्ध सहकारी पीडितले नाराबाजी गरेका थिए ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए ।
लामिछानेले गोर्खा मिडियामा १५ प्रतिशत ‘स्वेट सेयर’ लिएर प्रवेश गरेको र निस्कँदा त्यो सेयर कम्पनीलाई नै फिर्ता गरेको दाबी गरेका थिए। तर, यो रकम ‘स्वेट सेयर’ नभइ सहकारीको रकम भएको र उनी कम्पनीबाट बाहिरिने क्रममा पैसा लिन बुझाएका कागजातमा पनि किर्ते गरिएको प्रतिवेदनमा उल्लेख छ । संगठित तवरले किर्तेसमेत गरी सहकारी ठगी गरेको र त्यस्तो रकमबाटै गोर्खा मिडिया नेटवर्क सञ्चालन गरिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनको कानुनअनुसार कारबाही हुने विषय प्रतिवेदनमा उल्लेख छ ।
एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारीको बचत अपचलनमा उनीहरूलाई दोषी किटान गर्दै गत भदौ ३१ मा प्रतिनिधि सभामा पेस गरेको थियो । पेस लगत्तै कार्यान्वयनका लागि संसद्ले प्रतिवेदन सरकारलाई पठाएको थियो । रविका एक साझेदार छविलाल जोसी पक्राउ परिसकेका छन् । उनलाई गत असोज ६ गते पक्राउ गरिएको हो भने जिबीराई फरार छन् । छबिलालको प्रहरीले बयान सकेको छ र थप अनुसन्धानको लागि अदालतबाट अनुमित लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।