पोखरा । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली रास्वपाको केन्द्रीय पार्टी कार्यालय पुगेको छ । सिआइबीका एसपी होबिन्द्र बोगटीसहितको प्रहरी टोली रास्वपा कार्यालय पुगेको हो । पूर्वगृह मन्त्री समेत रहेका लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको हो । रवि पार्टी कार्यालयमै रहेका छन् ।
रविलाई पक्राउ गर्न अनुमति पाएलगत्तै देशभरका ठूला अपराधको अनुसन्धान गर्ने प्रहरीको युनिट सिआइबी सक्रिय बनेको हो । यतिबेला वनस्थलिस्थित रास्वपा पार्टी कार्यालयमा मानिसहरुको बाक्लो भिड लागेको छ । लामिछाने निवर्तमान गृहमन्त्री हुन्। दुईपटक गृहमन्त्री बनेका लामिछानेमाथी सहकारीको रकम अपचलन गरेको आरोप छ ।
ग्यालेक्सी टेलिभिजनको सञ्चालक गोरखा मिडियामा सहकारीको रकम ल्याएर अपलचन गरेको आरोपमा कास्की प्रहरीले यतिबेला पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ । कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ ।