एउटा शव काठमाडौं लगियो, ४ शव धौलागिरि हिमालमै

एउटा शव काठमाडौं लगियो, ४ शव धौलागिरि हिमालमै

पोखरा । धौलागिरि हिमालमा ज्यान गुमाएका ५ जना पर्वतारोही मध्ये १ जनाको शव हेलिकप्टर मार्फत् काठमाडौ लगिएको छ । शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बाँकी ४ वटा शव पनि ल्याउने तयारी गरिएको प्रहरीको भनाइ छ ।

७ हजार एक सय मिटर उचाइमा पाँच रुसी पर्वतारोही मृत अवस्थामा फेला परेका थिए । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु ७ हजार ६ सय मिटरको उचाइबाट यही असोज २१ बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर ल्याउन ढिलाइ भएको प्रहरीको भनाइ छ । आइएम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । सात जना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए भने २ जनाले सफल आरोहण गरेका थिए । ५ जना मृत भेटिएका हुन् । यसअघि शव लिन गएको हेलिकप्टर खराब मौसमले शव नलिन रित्तै फर्किएको थियो ।

प्रतिक्रिया