चितवन । मनकामना केबलकार मर्मत सम्भारका लागि आजदेखि ३ दिन बन्द भएको छ । आजदेखि कात्तिक १ गतेसम्म केबलकार बन्द गरिने भएको हो ।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र २७ गते दुई दिन पनि केबलकार बन्द थियो । हिजो भने एक दिन भने केबलकार सञ्चालन गरिएको थियो । ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेशन भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा रहेको छ ।