पोखरा फेवातालबीचको तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

 पोखरा फेवातालबीचको तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

पोखरा । पोखराको फेवाताल बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनर्निर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनर्निर्माणलाई अगाडि बढाएको हो । यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ ।

पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ । दसैँमा पुनर्निर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुनर्निर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो ।

 पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनर्निर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले रु दुई करोड र पुरातत्व विभागले रु २५ लाखगरी कूल रु दुई करोड २५ लाखको लागतमा मन्दिरको पुनर्निर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिए । समितिले रु १० करोडको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनर्निर्माणलालाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो ।

अबको छ महिनाभित्र मन्दिर पुनर्निर्माणको काम सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिए ।  कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गरेको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव ध्रुव बरालले बताए ।

प्रतिक्रिया