रुपा कास्की । कास्कीको रुपा गाउँपालिकामा आज बजार अनुमगन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाको नेतृत्वमा रुपाको वडा नम्बर ५ को देउराली र वडा नम्बर ६ को भीरचोकमा बजार अनुगमन गरिएको हो ।
२ ठाउँमा गरी २५ वटा पसलमा अनुगमन गरिएको रुपाका सूचना अधिकारी लोकनाथ पौडेलले जानकरी दिए । बजार अनुमगन गर्दा धेरै पसलमा मूल्य सूची नटाँसेको पाइएकाले तत्काल टाँस्न भनिएको पौडेलले बताए । आज अनुगमन गर्दा म्याद गुज्रेको कुनै बस्तु नभेटिएको पौडेलले भनाइ छ ।
खाद्यान्न, फ्रेस हाउस, कस्मेटिक, फेन्सी लगायत विभिन्न पसलमा अनुगमन गर्दा केही खाद्यान्न पसलमा उत्पादन सम्बन्धी केही पनि उल्लेख नगरिएका खाद्य बस्तुलाई नष्ट गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए । गाउँपालिकामा व्यवसाय दर्ता गरेर नवीकरण नगरेका १४ वटाको व्यवसाय नवीकरण समेत गरिएको र कतिपयले आन्तरिक राजश्व कार्यालय दर्ता नगरी व्यवसाय सञ्चालन गरेकाले त्यहाँपनि दर्ता गर्न सुझाइएको बरालले बताए ।
मासु तथा खाजा पसलमा सरसफाइ राम्रो पाइएको अनुगमन टोलीले बताएको छ । व्यावसायीलाई व्यवसाय सञ्चालन सम्बन्धी सचेतना कार्यक्रम बेला बेलामा गाउँपालिकाले गर्दै आएको अध्यक्ष ओझाको भनाइ छ । बजार अनुगमनले व्यवसायी र उपभोक्ता दुबैमा बस्तु बिक्री र खरिदप्रति सचेतना बढेको आझाले बताए । चाड पर्वको अवसरमा मात्र नभइ नियमित रुपमा नै बजार अनुगमन गर्ने नीति गाउँपालिकाले लिएको उनको भनाइ छ । रुपा गाउँपालिकामा साढे सात सय पसल दर्ता भएका छन् ।