पोखरा । पत्रकार तथा लेखक सुधीर शर्माका दुई कृतिमाथि पोखरामा विमर्श गरिएको छ । र्याण्डम रिडर्स सोसाइटीले शर्माका हालै प्रकाशित ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’ नामक कृतिमाथि विमर्श गरेको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन र नेपालका बिचमा कूटनीतिक सम्बन्ध सुमधुर भएमा दुबै पक्षले फाइदा लिन सक्ने धारणा राखे । कृतिले नेपाललाई चीन र चीनलाई नेपाल चाहिनुका कारणबारे पुस्तकमा शर्माले चर्चा गरेका बताउँदै मुल्मीले सन्तुलित कूटनीतिलाई बढावा दिनुपर्नेमा कृतिले जोड दिएको बताए । नेपाल अर्को सिक्किम नहोस् भन्नेमा कुरामा चिनियाँहरूको चासो रहेको उनले बताए । भारत र चीनलाई जोड्ने कडीका रूपमा नेपालले भूमिका खेल्नुपर्ने धारणा किताबमा आएको मुल्मीले चर्चा गरे ।
साहित्यकार सरस्वती प्रतीक्षाले विशाल अर्थतन्त्र भएका चीन र भारतका बिचमा रहेर नेपालले कसरी आर्थिक फड्को मार्न सक्छ भन्ने सन्दर्भमा सुधीर शर्माले कृतिमा चर्चा गरेका बताइन् । मध्यस्थ व्यापारको केन्द्रमा रहेर दुबै छिमेकी देशलाई जोड्ने रेलसेवा सञ्चालन गर्ने हो भने नेपालले आर्थिक विकास गर्न सक्ने विचार कृतिमा आएको उनको भनाइ थियो । नेपाल–चीन–तिब्बतको सम्बन्धमा इतिहासदेखि वर्तमानसम्मका पाटाहरूलाई केलाएर दुई गम्भीर किताब शर्माले लेखेको उनले बताइन् । इतिहास लेखनको शास्त्रीय सिद्धान्तलाई अतिक्रमण गरेर आफूलाई साहित्यको नजिक उभ्याएर लेखिएका हुनाले दुबै कृतिहरू आम पाठकका लागि पठनीय रहेको प्रतीक्षाको ठम्याइ थियो ।
पत्रकार तथा लेखक शर्माले आफूले कृतिमा आफ्नो ‘भ्युज’ नभई अध्ययन र अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेको बताए । यसअघि ‘प्रयोगशाला’ लेखेका उनले सो कृतिमा दक्षिणतिर हेर्न खोजेको र यी दुई कृतिमा चाहिँ उत्तरतिर हेर्न खोजेको जानकारी दिए । लेखन सुरु गर्दा दुइटा किताब लेख्ने विचार नभए पनि लेख्दै जाँदा दुई कृति लेख्नुपर्ने विषयवस्तु आएकाले दुई कृतिका रूपमा प्रकाशन गरिएको उनले बताए । चीनलाई आम नेपाली र अनुसन्धाताका रूपमा बुझ्न खोजेको र बुझेको कुरा प्रस्तुत गरेको उनको भनाइ थियो । कतिपय विषयलाई आगामी अनुसन्धाताका लागि बाटो खोल्ने गरी छोइएको बताउँदै उनले खोज गर्नुपर्ने इतिहासदेखिका थुप्रै विषयवस्तु रहेका अनुभव सुनाए ।
मुल्मीले लेखक शर्माले राजनीति, आर्थिक र कूटनीतिक विषयलाई तथ्यसहित प्रस्तुत गरेको बताए । नरेन्द्रदेवका पालादेखि नेपाल तिब्बत सम्बन्ध रहेको पुस्तकमा उल्लेख छ । पाँचौ ं शताब्दीमै बुद्धभद्र चीनमा पुगेर जनस्तरमा सम्बन्ध कायम राखेको विषयलाई मिठासपूर्ण तबरले प्रस्तुत गरेको भन्दै उनले प्रशंसा गरे । १ हजार वर्ष पहिलेदेखि ल्हासामा नेपालीले व्यापार गर्न थालेको प्रसंगलाई त्यहाँ व्यापार गर्ने हरुका परिवारसँग कुराकानी गरेर लेखकले पुस्तकमा उतारेका छन् । त्यतिमात्र नभएर चीनमा माओको उदयपछि नेपालमा उत्पन्न डर चिन्ताका साथै व्यापारी र भिक्षुका माध्यमबाट कसरी नेपालमा वामपन्थी विचारधार प्रवाहित भयो भन्ने प्रसंग निकै रुचिकर रहेको मुल्मीको भनाइ थियो ।
यताबाट बुद्ध चीन गएको र उताबाट माओ नेपाल आएको प्रसंगसमेत पठनीय छ । यस विषयमा साहित्यकार प्रतीक्षा भने उताबाट माओ नभई माओको फोटोमात्र आएको टिप्पणी गर्छिन् । विगतमा आर्थिक रुपमा शक्ति राष्ट्र रहेका चीन र भारतका बीचमा रहेको नेपाल व्यापारिक मध्यस्थस्थल हुने सम्भावना सुरुदेखि थियो । अहिले पनि विश्वका २ शक्ति राष्ट्र बन्ने धुनमा ती देश छन् । यस्तो अवस्थामा हामीले कस्तो कूटनीतिक रणनीति अपनाउने भन्ने प्रश्न लेखक शर्माले दोस्रो पुस्तकमार्फत् गरेका छन् । लेखक शर्माले नेपाल चीनको सम्बन्ध र प्रसंग आउँदा पोखरा पनि जोडिने भन्दै त्यसैले काठमाडौ ंपछि परिचर्चाका लागि पोखरा रोजेको बताए । भिक्षु, व्यापार र विद्रोह इतिहाससँग जोडिएको र हिमालपारिको हुरी सम्भावनालाई चिहाउने र आशा जगाउने कृतिका रहेको उनको भनाइ थियो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा शर्मासँग सोसाइटीका निवर्तमान अध्यक्ष केशवशरण लामिछानेले संवादसमेत गरेका थिए । पुस्तक छनोट समितिका संयोजकसमेत रहेका लामिछानेले पोखरावरपरका पाठकका लागि रुचिकर विषय भएकाले पनि कृति छनोट गरिएको जानकारी दिए । ‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।