२ दिनदेखिको झरीले जनजीवन प्रभावित, शनिबार झरीको सम्भावना

२ दिनदेखिको झरीले जनजीवन प्रभावित, शनिबार झरीको सम्भावना

weather 2

पोखरा । २ दिन देखिको लगातारको झरीले जनजीवन प्रभावित भएको छ । पोखरासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । अझै १ दिन झरीको सम्भावना रहेको मौसमविदको भनाइ छ । पोखरामा बिहीबार रातिदेखि परेको पानी अहिले पनि जारी छ ।

झरीका कारण हिजोको विश्व पर्यटन दिवसमा पोखरामा आयोजना गरिएको विविध कार्यक्रम समेत प्रभावित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान केही उडानभएपनि त्यसपछि उडान प्रभावित भएका छन् । नेपालमा मनसुनी प्रणाली कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत थपिएपछि लगातार वर्षा भइरहेको छ । पोखरामा हिजो साँझ पौन ६ बजेको रेकर्ड अनुसार १ सय ६ दशमवल ६ मिलिमिटर पानी परेको छ । शुक्रबार सबैभन्दा धेरै झापामा ३ सय ५ मिलिमिटर पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते नै विशेष बुलेटिन जारी गरेर भारी वर्षा हुने सम्भावना भएको सार्वजनिक गरेको थियो ।महाशाखाले २७ जिल्लालाई उच्च जोखिममा राखेकोमा असोज ९ गते अर्को सूचना जारी गरेर ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेकाले उच्च सतर्कता अपनाउन सुझाएको थियो ।

महाशाखाका अनुसार शनिबारदेखि पूर्वी भागमा शुक्रबारको तुलनामा कम पानी पर्ने र पश्चिमी भागमा बढी पानी पर्ने अनुमान गरिएको छ ।
नेपालमा पछिल्ला केही वर्षहरुको तुलनामा मनसुन अवधि लम्बिँएको छ । नेपालमा सरदर मनसुन अवधि १०५ दिनको हुने गरेकोमा अहिले १ सय १२ दिन पुगेको छ । मनसुन आगमन जुन १० मा र बहिर्गमन सेप्टेम्बर २३ मा हुने गरेकोमा सन् २०२० पछि नेपालमा सामान्यतया मनसुनी प्रणाली जुन १३ मा भित्रिएर अक्टुबर २ मा बाहिरिने गरेको मौसमविदको भनाइ छ ।

मौसमविदहरुको अनुमानमा अक्टुबर ४ अर्थात् असोज १८ गतेदेखि नेपालबाट मनसुन बाहिरिन थाल्ने छ । यस वर्षको मनसुन बाहिरिने दिन आउन अझै ६ दिन बाँकी छ । यस वर्ष दशैंको नवरात्र सुरु हुँदासम्म मनसुन बाहिरिने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

प्रतिक्रिया