सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गर्दैछ

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गर्दैछ

Tik Tok

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी थालेको छ।

यसअघि, तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध खुलाउने वर्तमान सरकारले गृहकार्य सुरु गरेको हो।

तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

टिकटकमाथि प्रतिबन्ध लगाउँदा प्रचण्ड नेतृत्वको काँग्रेससहितको गठबन्धन सरकारमा संचार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी रेखा शर्माले सम्हालेकी थिइन्।

अहिले सत्ता गठबन्धन परिवर्तन भएर काँग्रेस एमालेको नयाँ सरकार बनेपछि पृथ्वीसुब्बा गुरुङ संचार तथा सूचना प्रविधि मन्त्री छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र संचारमन्त्री गुरुङबीचको सहमतिमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी थालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउन तालुकदार संचार मन्त्रालयलाई निर्देशन दिइसकेको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको निर्देशन पछि सरकारका प्रवक्ता समेत रहेका संचार सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउन गृहकार्य सुरु गरिसकेको बताइएको छ।

स्रोतका अनुसार संचार मन्त्री गुरुङले टिकटक खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेका छन्।

यसअघि, मन्त्रिपरिषद्को निर्णयबाटै प्रतिबन्ध लगाइकाले खुलाउन पनि मन्त्रिपरिषद्मै प्रस्ताव लैजाने संचार मन्त्रीको तयारी छ।

टिकटकको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गरेर संचालन गर्न तयार रहेको पत्र संचार मन्त्रालयमा पठाइसकेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट टिकटक खुलाउने प्रस्ताव पारित गर्नेगरी तयारी थालिएको संचार मन्त्रालयले जनाएको छ।

संचार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टिकटक खुलाउन टिकटकको साउथ एसियन क्षेत्रीय कार्यालयबाट पत्र आएको र सो पत्रको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

प्रतिक्रिया